प्रहरी विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव


नेपालगञ्ज-  नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार २६७ घटनाका छ हजार ७८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमुना परीक्षण भएको हो ।

उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८/७९ मा ५०२ घटनाका एक हजार ५५२ नमुना, आव ०७९/०८० मा ७९९ घटनाका दुई हजार चार सय ४० नमुना, आव ०८०/०८१ मा ७४७ घटनाका दुई हजार १८६ नम’ना र आव ०८१/०८२ मा २१९ घटनाका ६०४ नमुना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगञ्जले जनाएको छ ।

२०७८ मङ्सिरदेखि सो प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, र्‍याल, ‘स्टोम्याच वास’ आदीबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागुपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ, नेपालगञ्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिए ।

त्यसबाहेक भिसेरा नमूनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षण समेत हुने गरेको छ। यस्तै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने गरेको छ। ‘पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फर्छ्योट हुन बाँकी छ’, प्रहरी निरीक्षक बस्नेतले भने ।

उहाँले जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने जनाउँदै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको तर जनशक्ति पर्याप्त नभएको बताए। प्रविधिमा सहज पहुँच र तालिम पर्याप्त भए काम गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ ।

प्रदेशअनुसार लुम्बिनीमा एक हजार ११२ घटनाका तीन हजार ८८ नमुना, कर्णालीमा चार८७ घटनाका एक हजार ३५० नम’ना र सुदूरपश्चिममा ६६८ घटनाका दुई हजार ३४४ सहित कुल छ हजार ७८२ नमुनाको परीक्षण सम्पन्न भएको छ ।

भविष्यमा विधि विज्ञानका विभिन्न विधाका शाखा सञ्चालन गर्ने योजना रहेको र तत्काल लागुऔषधसँग सम्बन्धित नमुनाको परीक्षणसमेत शुरु गर्ने प्रयोगशालाले जनाएको छ । काठमाडौँ बाहिर पश्चिम नेपालमा प्रहरीले यस प्रयोगशालामार्फत परीक्षण सुरु गरेपछि अपराध अनुसन्धान तथा फौजदारी न्यायप्रणालीमा सघाउ पुग्दै आएको छ ।

प्रतिक्रिया