

यात्रुले बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खोलेपछि…

काठमाडौं – काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा चढेका एक यात्रुले इमर्जेन्सी ढोका खोलेका छन्।
विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोलेका हुन् ।
काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।
जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका एक जना यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए ।
उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए । उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको बुद्ध एयरले जनाएको छ।
बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।
बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

