बाढीपहिरो पीडितको सहारा बने मेयर खरेल, तीन वर्षको तलब भत्तावापतको १५ लाख दिने


काठमाडाैं- काभ्रेपलाञ्चोककाे पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलब भत्ता बाढी पीडितलाई सहयोग गर्ने भएका छन् । आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधा वापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला प्रतिनिधि सभा २ का सभापति समेत रहेका नगरप्रमुख खरेलले तीन वर्षको तलब भत्ताबाट १५ लाख पालिकाको राहतकोषमा जम्मा गर्ने निर्णय गरेका बताइएकाे छ ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।

तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

सधैं जनताकाे साथी बनेका मेयर

मेयर महेश खरेल नेपाली कांग्रेसका अग्रज नेता तथा पूर्वमन्त्री राजन्द्र खरेलका छोरा हुन् । उच्चशिक्षाको लागी अमेरिका पुगेका खरेल १३ वर्ष अमेरीकाको बसाईपछि नेपालमै केही गर्ने सोच राखेर फर्किएका थिए । आफ्नो बुवाले विविध कारणले छाडेको राजनीतिक यात्रालाई नै अगाडी बढाउदै उनी काभ्रे कांग्रेसको राजनीतिमा होमीएका थिए।

अमेरिका जानुअघि बाल कांग्रेसमा सक्रिय मेयर खरेल नेपाल फर्किएपछि तरुण दलको केन्द्रीय सदस्य हुँदै कांग्रेसको १३औं अधिवेशनबाट काभ्रे कांग्रेसको २ नम्बर क्षेत्रिय सभापतिमा निर्वाचित भएका थिए। ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट पाँचखाल नगरपालिकाको मेयरको उम्मेदवार बनेका खरेल बाम गठबन्धनका उमेद्वारलाई ५ सय मतले हराउँदै निर्वाचित भएका थिए । त्याेबेला काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिकामध्ये एउटा मात्रै नगरपालिका पाँचखालमा नेपाली कांग्रेसको उम्मेवारले जित हाँसिल गरेकाे थियाे । भने, बेथानचोक गाउँपालिकामा कांग्रेसका उम्मदवार विजय भएका थिए ।

अघिल्लाे कार्यकालमा मेयर खरेललाई  बागमती प्रदेश सरकारले प्रदेशकै उत्कृष्ट मेयरको घोषणा गर्दै अवार्ड प्रदान गरेकाे थियाे । पाँच वर्षमा मेयर खरेलले गरेको कामको बागमती प्रदेश सरकारले मात्रा उत्कृष्ट ठहर गरेन । पाँचखालका नगरबासीले समेत उनकाे मूल्यांकन गर्दै ०७९ को निर्वाचनमा ५ हजार ५०० मतले खरेललाई पुन: निर्वाचित गराएका थिए ।

यसपटक पनि तीन वर्षको तलब भत्ताकाे १५ लाख बाढीपहिराे पीडितलाई दिने भएसँगै उनले फेरि एकपटक काभ्रेली जनताको मन जित्न सफल भएका छन् ।

प्रतिक्रिया