त्रिशूलीको बाढीले बगायो ३ टिपर र २ एक्साभेटर


काठमाडौं – त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।

अविरल वर्षाका कारण नदीमा आएको बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिपर, दईवटा एक्साभेटर नदीको बीचमा फसेका थिए । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि सकिएको थिएन ।

ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको छ ।

 

प्रतिक्रिया