एकैदिन चट्याङ लागेर ६ जनाको ज्यान गयो


काठमाडाैं- विभिन्न जिल्लामा चट्याङ लागेर एकैदिन  ६ जनाको ज्यान गएको छ । भने,  तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दोधारा चाँदनी–६ का जगदीश सुनार घाइते भएका छन् ।

यस्तै दाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटकी ४२ वर्षीया निमकली साहु, ६ वर्षकी छोरी सविना र तीन वर्षका छोरा समिर घाइते भएकामा समिरको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमा र छोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरूलाई आफ्नै घरमा चट्याङ लागेको हो ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर चन्द्रकली वलीको ज्यान गएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोलमा घर बनाउने काम गरिरहेका झापाका कुमार मोतेको पनि चट्याङ लागेर ज्यान गएको छ ।

यस्तैबाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँमा चट्याङ लागेर खम्ब कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया