अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक : गृहमन्त्री लेखक
काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकारात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको बताए । उनले कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीलाई निर्देशन दिए ।
“अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो । यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भने । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ छ ।
उक्त अवसरमा अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको बताए ।