सहकारीको २ अर्ब ठगी गरेका मेयर १६ महिनादेखि फरार


काठमाडौं-  सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन् ।

उनीमाथि कास्की र बागलुङमा संचालित इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षा हैसियतमा रकम अपचलन गरेको उनिमाथि अभियोग छ ।

सहकारीका बचतकर्ताको करिब २ अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ देखि उनी परिवारसहित सम्पर्कबाहिर छन् ।

प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि फेला परेका छैनन् । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका १ हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

जिल्ला अदालत बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ भने यही अभियोगमा थुनामा छन् ।

सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।

उनले आफुसँग ३ अर्ब बराबरको सम्पत्ति रहेको र सो बेचेर वचतकर्ताको रकम फिर्ता गर्ने भन्दै हुलाकमार्फत सहकारी ठगी सम्वन्धी संसदीय समितिमा पत्रसमेत पठाएका थिए ।

नेपाललीले आइतवार सामाजिक सञ्जालमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको बताएपनि कहाँ छन् भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया