चाैथोपटक प्रधानमन्त्री बनेका ओलीको पहिलो विदेश भ्रमण अमेरिका !

अर्थ र परराष्ट्रमन्त्रीसहित ११ दिने भ्रमणका लागि असोज ५ मा जाने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ।

चौथो पटक गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसको २ महिना पछि अमेरिका जान लागेका हुन्। कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका प्रस्थान गर्ने ओलीको सचिवालयले जनाएको छ। उनी असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने ओलीको भ्रमणलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत हुनेछन्।

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया