

कैलालीका ५ सय घर डुबानमा, एक हजार ४ सय प्रभावित

कैलाली- अविरल वर्षाका कैलालीका ५ सय घर डुबानमा परेका छन् । दुई दिनसम्म परेको वर्षाका कारण कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको छ।
जिल्लामा वर्षाका कारण एक हजार सात सय जना प्रभावित भएका छन् । उनीहरू घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरूमा बसेका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ ।
भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलारी गाउँपालिकाको केही घर डुबान परेका छन् ।
बुधवारदेखि अविरल परिरहेको वर्षाले कैलालीका सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छै न। बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ ।
गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ ।

