गठ्ठाघर घटनामा ट्रक चालकले दुर्घटना थाहै नपाएको छानबिन समितिको निष्कर्ष


काठमाडौँ – गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।

ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।

त्यसपछि ट्रक नै रोकेको उनले बयानमा खुलाएका छन् । दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको छ । ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।

दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन् । बिहीबार दिउँसो १ः४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति बनाएर घटनाको छानबिन गरेको थियो ।

तर छानबिन समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार व्यक्तिलाई ट्रक केही मिटर परसम्म घिसारेको देखिन्छ ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक प्रहरी दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । जसकारण यो दुर्घटनामा ट्राफिकको कुनै गल्ती नरहेको एसपी केसीको समितिले औँल्याएको छ ।

गृह मन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रहरी जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको अर्को समितिले पनि छानबिन सुरु गरेको छ । समितिमा भक्तपुरका डीएसपी राजन कार्की र एक जना मेकानिकल इन्जिनियरसहित ५ जना सदस्य छन् ।

आइतबारबाट काम सुरु गरेको उक्त समितिले आगामी आइतबार प्रतिवेदन बुझाउने गरी म्याद दिइएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मेकानिकल इन्जिनियरले ट्रकको अवस्था पनि ठिक रहेको राय दिएका छन् ।

ट्रकको अवस्था पनि ठिक रहेको, स्पिडमा पनि नरहेको, चालकले मादक पदार्थ सेवन पनि नगरेको पाइएकाले लापरबाहीपूर्ण तरिकाले चलाएर भन्दा पनि भवितव्यमा दुर्घटना भएको समितिले औँल्याएको छ ।

ट्राफिकले जथाभाबी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

दुर्घटनापछि छानबिन गर्न बनेको एसपी केसीको समितिले प्रतिवेदन बुझाए पनि सहायक सिडिओ निरौला नेतृत्वको समितिले प्रतिवेदन बुझाउन बाँकी नै छ । सम्भवत आउँदो आइतबार प्रतिवेदन बुझाउने गरी समितिले काम गरिरहेको छ ।

प्रतिक्रिया