टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी


काठमाडौं – सरकारले छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक/दुई हप्ताभित्रै प्रतिबन्ध हटाउने तयारी भइरहेको जनाएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्षको कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै सरकारले त्यतिबेला टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ९ महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।

प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । सञ्चार मन्त्रालय स्रोतका अनुसार एक–दुई हप्ताभित्रै टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी काम भइरहेको छ ।

“एकदुई हप्ताभित्र टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी छलफल र तयारी भइरहेको छ” सञ्चार मन्त्रालय स्रोतले भन्यो ।

प्रतिक्रिया