बुवा मलेसियामा बिते, ३ महिनापछि कोरिया बस्ने छोरीलाई हृदयघात
काठमाडाैं- इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठका बुवा लिलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । तर, ३ महिनाअघि उनकाे त्यही निधन भयाे । शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरिएकाे ३ महिना नबित्दै श्रेष्ठ परिवारमा अर्काे बज्रपात परेकाे छ ।
अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी छाेरी सोनु पनि उतै अस्ताएकी छिन् । दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आएको पारिवारीक श्रोतले जानकारी दिएको छ।
उनको हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। उनको शव नेपाल पठाउनका पहल भइरहेको जानकारी दिइएको छ ।
मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन् । उनीहरू गाउँमै सामान्य खेती किसानी काम गर्छन् । सोनुको शव नेपाल ल्याइने तयारी भएता पनि आर्थिक अभावका कारण ढिलाइ हुने देखिएको छ । परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन् ।