सूर्यदर्शन सहकारी प्रकरणमा संलग्न अनुज नकर्मी पक्राउ, अझै ३८ जना फरार सूचीमा


पोखरा – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जोडिएका थप एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१७ बस्ने ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका हुन्।

पर्साको वीरगञ्ज महानगरपालिका–१४ शिलपुर घर भएका अनुज पोखरा बस्दै आएका छन्। उनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। सोमबार जिल्ला अदालत कास्कीमा पेश गरेको एसपी थापाको भनाइ छ।

सूर्य दर्शन सहकारीको रकम हिनामिना प्रकरणमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। सुरुमा १९ जना प्रतिवादी बनाइएकोमा पछि सफ्टवयेर बरामद गरेर अनुसन्धान गर्दा थप २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

अनुज पक्राउ परेसँगै सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ। हालसम्म सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याललाई प्रहरीले पक्राउ गरेकोे छ। उनीहरु पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन्।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगर लगायत ३८ जना फरार सूचीमा रहेका छन्।

 

प्रतिक्रिया