राजनीतिक स्थायित्वका लागि माओवादीले अघि सार्यो कार्यकारी राष्ट्रपतिको एजेण्डा
काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको एजेण्डा अगाडि सारेको छ ।
जारी पार्टी स्थायी कमिटीको बैठकमा उठेका विषयबारे शनिबार जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा आएको बताए ।
‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं । यसमा हामीले हिजो पनि नोट अफ डिसेन्ट लेखेका थियौं । अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं,’ उनले भने, ‘यहाँ अस्थिरताको कुरा गरिँदैछ । कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने कार्यकारी राष्ट्रपतिमा जानुपर्छ ।’
प्रवक्ता सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैठकमा यही कुरा राखेको बताए । ‘यसैले यही आधिकारिक र पार्टीको संस्थागत निर्णय हो,’ उनले भने । उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल भइनसकेको बताएका छन् ।