

सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन

फुङ्लिङ – पाथीभरायाङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ अहिले निकै व्यस्त छिन् । घरघरमा स्वास्थ्यकर्मी र साथमा कोशेली लिएर प्रत्येक सुत्केरी भेटघाटमा व्यस्त भएको हुन ।
उनले यस चालू आर्थिक वर्षदेखि ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’शुरुआत गरेका छन् । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा सुत्केरीलाई पोषिलो खाद्य पदार्थ र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको उनले बताए ।
गत साउनदेखि चैत ७ गते आइतबारसम्ममा ७८ सुत्केरी घरमा कोशेली पुर्याई सक्नुभएको उनले जानकारी दिए । पाथीभरायाङवरक गाउँपालिका- १ मा २४ सुत्केरी घरमा उपाध्यक्ष गुरुङले कोशेली र सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित पुगिसकेका छन् ।
त्यस्तै वडा नं २ मा २१ जना, वडा नं ४ मा पाँच जना वडा नं ५ मा ९ जना र वडा नं ६ मा १९ जना सुत्केरीको घरमा स्वास्थ्यकर्मी र कोशेली लिएर उपाध्यक्ष आइतबारसम्ममा पुगिसकेको उनले जानकारी दिए । उनले भने, ‘आजदेखि वडा नं ३ का सुत्केरी महिलाका घरमा जाने तयारीमा छु ।’
सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम लागू गरेको पाथीभरा याङवरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले जानकारी दिए ।
सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण गर्दै आएको उनले बताए । प्रसूति खर्चबापत सरकारले दिने गरेकोबाहेक एक हजार गाउँपालिकाले स्थानीय सरकार आए यता प्रत्येक प्रसूतिलाई उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा दुई/दुई महिनामा गर्भवतीको स्वास्थ्य परीक्षणका लागि भिडियो एक्स-रे शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुपर्यो भने प्रतिकोष रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले जानकारी दिए ।
सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने उनले बताए । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु छ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आउँदो आर्थिक वर्षमा अझ प्रभावकारी बनाएर लानका लागि थप आवश्यक बजेटको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

