राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रूपमा मनाइँदै आएको भोटो जात्रा अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटो जात्रा अवलोकन गरेका हुन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटो जात्रा अवलोकन गरेका थिए । उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

भोटे जात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

प्रतिक्रिया