मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने


काठमाडौँ – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् ।

कँडेलले साउन २१ गते सोमबार संसद्‌बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलो पटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाएका थिए ।

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली काँग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

शुक्रबार काँग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भए पनि कँडेलले शपथ गराएका छैनन् । सम्भवतः आइतबार उनीहरूको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

प्रतिक्रिया