मःम पसलमा ग्यास सिलिण्डर पड्किँदा ६ घाइते


भक्तपुर — भक्तपुरको सिर्जनानगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार साँझ सिर्जनानगरस्थित एक मःम पसलमा ग्यास सिलिण्डर पड्किँदा सञ्चालकसहित ६ जना घाइते भएको जनाइएको छ ।

सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्।

उनीहरु डा. ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् ।

यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको छ ।

 

प्रतिक्रिया