
‘आधा आकाश’को उच्च मूल्यांकन
राष्ट्रपति विद्या भण्डारी, प्रधानन्यायाधीश शुसीला कार्की, प्रहरी अस्पताल प्रमुख एआईजी डा. आशा सिंह र मुख्यसचिव लिला गड्तौला ओलीकै पालामा पहिलो महिला बन्दै पदमा पुगे
काठमाडौं – चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा आसिन हुँदै सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार मानिएको निजामति प्रशासनले छलाङ मारेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिन पनि नपुग्दै निजामति कर्मचारीको सर्वोच्च पद मुख्य सचिवमा लीलादेवी गड्तौलालाई बढुवा गर्ने निर्णय गरेसँगै ‘आधा आकाश’का रुपमा रहेका महिलाहरुका लागि प्रधानमन्त्रीको नेतृत्वकाल सुखद् र फलिफाप बन्दै गएको छ ।
नेपालको जनसंख्यामा पुरुषभन्दा धेरै महिलाहरु रहेको अवस्थामा पहिलोपटक ओली नेतृत्वकै पालामा निजामति कर्मचारी प्रशासनको सर्वोच्च पदमा महिला पुग्न सफल भएसँगै ओलीको शासनकाल महिलाका लागि फलदायी सावित भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्ले गड्तौलालाई मुख्यसचिवमा बढुवा गरेको हो ।
२०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मिएकी गड्तौला यही भदौ १५ गते उमेर हदका कारण सेवा निवृत्त हुनेछिन् । उनी २०७७ कात्तिक २७ गते सचिव बनेकी गड्तौलाले यसअघिका मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि कामु मुख्य सचिवको जिम्मेवारी लिएकी थिइन् ।
यसअघि प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की पनि प्रधानमन्त्री ओलीकै पालामा सर्वोच्च पदमा पुग्ने अवसर पाएका थिए ।
नेपालको इतिहासको दोस्रो र प्रथम महिला राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् । भण्डारीले त्यसबेला नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै प्रथम महिला राष्ट्रपति बनेकी थिइन् ।
त्यस्तै प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले २०७३ साल असार २७ मा प्रथम महिला प्रधान्यायाधीशका रुपमा कार्यभार सम्हालेकी थिइन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै सपथ खुवाएकी थिइन् ।
संयोगले यी दुवै बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहेका थिए ।
पछिल्लो समय संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले स्थायी सरकारमा गड्तौलालाई बढुवा गरेजस्तै नेपालको कुटनीति सम्बन्धको स्थापनाका लागि जिम्मेवार परराष्ट्र मन्त्रालयमा पनि महिलाहरुले नै नेतृत्व गरेका छन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीका रुपमा डा. आरजु राणा देउवा रहेकी छिन् भने परराष्ट्र सचिवमा सेवा लम्साल रहेकी छिन् ।
नेपाल प्रहरी अस्पतालकी निवर्तमान प्रमुख अतिरिक्त पहरी महानिरीक्षक (एआईजी) डा. आशा सिंहले पनि ओली प्रधानमन्त्री हुँदा नै जिम्मेवारी पाएकी छिन् ।
त्यस्तै पछिल्लो पटक असर ३० मा प्रधानमन्त्री बनेका केपी ओलीले विदेश भ्रमणमा जाँदा महिला प्रतिनिधिलाई समेट्ने निर्णय पनि पहिलो क्याबिनेटबाटै पास गराएका थिए ।



कागजपत्र |
