एमालेका आठ मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


काठमाडौं – नेकपा एमाले सरकारबाट बाहिरिएको छ ।

आज (बुधबार) अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै केहीबेर अघि एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा दिएका छन् ।

चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारका रुपमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ ।

संसद्को दोस्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको हो । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सात बुँदे सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् । संविधानको धारा ६८ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया