देव विकास बैंकका शाखा प्रबन्धक बुढाथोकीविरुद्ध १७ करोड बढीको मुद्दा


काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देव विकाश बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीविरुद्ध १७ करोड बढीको मुद्दा दायर गरेको छ ।

बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना गरेको आरोपमा विभागले मङ्गलवार(आज) उच्च अदालत तुलसीपुर दाङमा अभियोग पत्र दायर गरेको हो । उनले साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम अपचलन गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै, बुढाथोकीले रकम अपचलन गर्ने मनसायले बैंकका अन्य कर्मचारीको युजर आइडीसमेत प्रयोग गरेको पाइएको छ । उक्त प्रकरणमा उनीमाथि बैंकिङ कसुर मुद्दामा ७ वर्षको कैद सजाय समेत हुने विभागले जनाएको छ ।

विभागले बुढाथोकीविरुद्ध अभियोगपत्र दायर गर्दै उनको नाममा विभिन्न चार बैंकका खातामा रहेको मौज्दात ३५ हजार ९८६ रुपैयाँसमेत जफत गर्न पनि माग गरेको छ ।

बुढाथोकीलाई कुल बिगो अठार करोड तीन लाख बहत्तर हजार आठ सय अठार रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुने विभागले जनाएको छ ।

प्रतिक्रिया