वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा आज पनि विभाग घेराउ


काठमाडौँ – आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन माग गर्दै आज दशौँ दिन पनि नाराजुलुससहित काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।

नवौँ दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै मंगलबार सरकारका विरुद्धमा चर्को नाराबाजी समेत गरेका हुन् ।

सरकारले आफूहरूको माग सम्बोधनमा ढिलाइ गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडि बढ्ने आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताए ।

उनले चर्कोगर्मीका बीचमा वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भइरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी गरे ।

आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिएको हो । आन्दोलनकारीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया