योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन् ।

शुक्रवार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले योगको अभ्यास नै नेपाल भूमिबाट नै सुरु भएको दाबी गरे ।

उनले योगलाई कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित गर्न नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने बताए । योग मानव समाजव्यापी हुन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘योग यसै भूमिबाट सुरु भएको थियो हजारौँ वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यहरूमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग सुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । यो एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले सुरु भएको थियो ।’

उनले मानवीय हित र कल्याणका लागि सम्पूर्ण रूपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी रहेको बताए । ‘योगलाई हामीले मानव समाजव्यापी बनाउन जरुरी छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातिको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सीमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । योग मानव जातिको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ, ‘उनले भने ।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योगमा झुमेको जीवन अनुशासित र पवित्र भन्दै उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।

प्रतिक्रिया