सदनको गतिरोध हटाउन प्रधानमन्त्री र काँग्रेससँग नेकपा एसले छलफल गर्ने


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले संसद् गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकमा सदनको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गर्दै संसदीय छानबिन समिति बनाउन माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ ।

समिति बनाउन सत्तापक्ष पनि तयार भए पनि टीओआरमा कुरा मिल्न सकेको छैन। काँग्रेसले गृहमन्त्रीको नाम नै किटान गरेर समिति बनाउनुपर्ने अडान राखेको छ ।

यस्तै, बैठकले महाधिवेशनका लागि तयार पारेको दस्ताबेज जेठ १५ गते जिल्ला तहमा पठाउने र अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनको तयारीका लागि खाद्य, आवास प्रचारलगायतको व्यवस्थाका सबै पक्षमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया