
२० वर्षपछि पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै
काठमाडौं- कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकाे गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा २० वर्षपछि सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबारबाट मुद्दाको सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैैमा राख्ने आदेश गरेको हो । मंगलबारदेखि फेरि त्यही इजलासमा मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला वासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।



कागजपत्र |
