पहुँचमा होइन प्राथमिकतामा बजेट बनाउन मुख्यमन्त्री सोडारीलाई अर्थ समितिको सुझाव


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षको लागि प्रभावकारी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा समितिका सदस्यहरूले मुख्यमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् ।

प्रमुख सचिव तथा अर्थ सचिवसहितको उपस्थितिमा सदस्यहरूले पूर्व योजना तर्जुमा नगरी बजेट निर्माण प्रक्रिया अगाडि बढाएको प्रति गुनासो गरेका थिए । उनीहरूले गत वर्षको बजेटको समीक्षा र छलफल नभएको भन्दै यस पटक विगतको जस्तो कमजोर बजेट नल्याउन मुख्यमन्त्री सोडारीलाई सुझाव दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३४ प्रतिशत मात्रै प्रगति भएको छ र कुल बजेटको ४३ प्रतिशत बजेट ओगटेको उक्त मन्त्रालयको खर्च गर्ने क्षमता कम देखिएको समेत सदस्यहरूले विषय उठाएका थिए ।

प्रादेशिक योजना बैङ्कका लागि सम्भावना अध्ययन नगरी बजेट बनाउने र बनेका बजेटको कार्यान्वयन पक्ष पनि कमजोर हुने विषय महत्त्वपूर्ण रहेको भन्दै उक्त विषयमा पनि ध्यानाकर्षण गराइएको प्राकृतिक स्रोत समितिका सदस्य समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।

प्रतिक्रिया