कांग्रेसले गृहमन्त्रीमाथि मात्र छानबिन गर्नुपर्छ भन्नु न्यायसंगत भएन : सांसद खनाल
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्नु न्यायसंगत नभएको बताएका छन् ।
सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै खनालले कांग्रेसले लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको र त्यो न्यायसंगत नभएको बताएका हुन् ।
उनले भने, ‘समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन । समितिको टिओआर बनाउँदै नै व्यक्तिको नाम किटान गरी छानबिन गर्नुपर्छ भन्नु न्यायसंगत हुँदैन ।’ कांग्रेसले प्रस्ताव नै गृहमन्त्री दोषी हुन् भन्ने खालको ल्याएको उनले बताए ।