९ महिनामा डेढ लाख विद्युतीय चुरोट आयात


काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा २ करोड १७ लाख २५ हजार रुपैयाँबराबरको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगारेट-भेप्स) नेपालमा आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा यो रुपैयाँबराबरको १ लाख ४५ हजार ७१ थान यस्तो विद्युतीय चुरोट नेपालमा आयात भएको हो ।

नेपालमा मुख्यगरी चीन, हङकङ, भारत, कोरिया, मलेसिया, युएई, क्यानाडा, जर्मनी, थाइल्याण्ड, युके र अमेरिकाबाट यस्तो चुरोट आयात हुने गरेको छ । परिमाणको हिसाव हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी चीनबाट आयात हुन्छ ।

यो चुरोटलाई ई सिगरेट र वाष्प सिगरेट पनि भनिन्छ । यो सिगरेट विभिन्न आकारमा निर्माण गरिएको हुन्छ । यो विद्युतीय प्रणालीमा आधारित उपकरण हो । जसमा व्याट्री जडान भएको हुन्छ । यो उपकरणमा निकोटिन वा गैर निकोटिनको वाष्पीकृत हुने घोललाई श्वासको सहयोगमा चुरोट सेवन गरेजस्तै सेवन गरिन्छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २ करोड १३ लाख ९८ हजार रुपैयाँबराबरको ३२ लाख २८ हजार १९९ वटा विद्युतीय चुरोट आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ३ करोड ३६ लाख ७६ हजार रुपैयाँबराबरको ६ लाख १४ हजार ३५६ वटा यो चुरोट आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२ लाख ९८ हजार रुपैयाँबराबरको २९ हजार २८ वटा यो चुरोट आयात भएको थियो ।

यसैबीच सरकारले भेपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भेपमा प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको हो ।

 

प्रतिक्रिया