नापीमा प्रकाशको हालीमुहाली, मन्त्रीदेखि देउवाका सालासम्मको आशीर्वादमा पटक-पटक डिजी !


काठमाडौं – नापी विभागमा महानिर्देशक (डिजी) बनिराख्न प्रकाश जोशीले राणा खानदानसम्मै पावर लगाएको खुलेको छ। महानिर्देशक प्रकाशलाई केही समय अगाडि मन्त्रालय तानिए पनि पछि पुनः विभागकै नेतृत्वमा फर्किएपछि उनले नापीमा अड्डा जमाउन सफल भएको पुष्टी भएको छ ।

नेपाली कांग्रेस निकट जोशी नेतृ आरजु राणा देउवाका भाइ अर्थात पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणासँगको निकट सम्बन्धपछि पटक-पटक विभागको डिजी बनेको जनाइन्छ । राणा उनै मन्छे हुन्, जसले नेपालमा हुने विभिन्न ठूला ठेक्काहरुमा अग्रिम सेटिङ मिलाउनेसहितको दलाली काम गर्ने गर्दछन्।

अनेकन दलालीका मास्टरमाइण्ड तिनै राणाले नापीमा पनि सेटिङ चलाएका छन्। उनले जोशीलाई हातमा लिएर आफूले चाहे बमोजिम विभिन्न सरकारी र ऐलानी व्यक्तिको नाममा राख्ने धन्दा चलाएको बताइन्छ। उनको त्यो धन्दामा सहयोग गरेवापत् प्रकाशमाथि राणाको राजनैनिक आशिर्वाद रहिआएको छ।

सोही आशीर्वादकै कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागको महानिर्देशकमा पुनः प्रकाशलाई पठाएको थियो। प्रकाश मन्त्रालय तानिएको समयमा विभागमा कार्यरत जनकराज जोशीले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए तर, पछि गएर उनलाई फिर्ता बोलाएर तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रीस्तरीय निर्णयमार्फत प्रकाशलाई विभागको महानिर्देशकका रूपमा खटाउने निर्णय गरेकी थिइन्।

प्रकाश गत ८ पुससम्म विभागको महानिर्देशक थिए। त्यसैदिन मन्त्रालयले उनलाई मन्त्रालयमा कामकाजका लागि ल्याएर मन्त्रालयमा कार्यरत जनकराजलाई महानिर्देशकको जिम्मेवारी दिएको थियो। कामकाजमा मन्त्रालय ल्याइएकामा अहिले उनलाई पुनः नापीकै डीजी बनाइएको हो। प्रकाशलाई पुनः विभाग पठाएपछि मन्त्रालयले जनकराज जोशीलाई जग्गा व्यवस्थापन तालिम केन्द्रमा खटाएको थियो।

तत्कालीन मन्त्रीदेखि हालका मन्त्री बलराम अधिकारी (नेकपा एमाले) समेतलाई रिझाएर प्रकाशले नापीमा अड्डा जमाइराखेका हुन्। मन्त्रालयले साढे चार वर्ष महानिर्देशक भएर काम गरिसकेका प्रकाशलाई पुनः जिम्मेवारी दिएर डीजीमै खटाउनु रहस्यपूर्ण छ।

मन्त्रालयमा कार्यरत जोशीलाई विभागको महानिर्देशकमा खटाइएकोमा अधिकांश कर्मचारीले पनि आपत्ति जनाएका थिए।

जोशीलाई तत्कालीन मन्त्री पदमा कुमारी अर्यालले महानिर्देशकमा नियुक्ति गरेकी थिइन्। तर, जोशीले विभागमा साढे चार वर्ष बिताउँदा कर्मचारी सरूवामा चलखेल राम्रै गरी ललितपुरको इमाडोलमा महल ठड्याएको कर्मचारी स्रोतले बताएको छ। जुन राजनीतिक दलको सरकार बने पनि मन्त्री र सचिवलाई खुशी बनाउने प्रकाशको विशेष क्षमता र कला हो। सोही कलाका कारण उनले अहिलेका मन्त्री अधिकारीलाई पनि व्यवस्थापन गर्दै विश्वासपात्र बनेको बुझिएको छ।

यतिमात्र होइन, नापीभित्र अनेकन झमेलाहरु छन्। सो विषयमा कागजपत्रले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ। यस अगाडि नापीमा उपसचिव दामोदर ढकालले सरुवा बढुवामा आतंक मच्चाएको विषयमा सार्वजनिक भएको थियो। उनै ढकालले डीजी प्रकाशलाई विचौलिया राणासँग जोडिदिएको पनि बताइन्छ। सोही कारण प्रकाशले राणा र ढकालको अनुकूल काम गर्दै आएका छन्।

प्रतिक्रिया