कार्यकर्तालाई जातका पछि नलाग्न ओलीको आग्रह


विराटनगर – पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुलाचुली २ स्थित स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले आफ्नो दलको तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई मत माग्दै जातीय कुरा नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘पहिचान विरोधी कोही होइन । एमालेले जति दलित, मुस्लिम, जनजातिको मुद्दा कसैले उठाएको छैन । तर, जातीय आधारमा होइन । बिना भेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन् । त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा जुटौं,’ ओलीले थप भने, ‘जातका कुरा मनमा नराख्नुहोस् । कसैले जातका कुरा गर्‍यो भने त्यो जातीय कुराले हार्ने मात्रै हो । यो देशमा कुनै पनि जातको कहिँ पनि बहुमत छैन । कोही पनि मानव जातको विरुद्ध जातीय सङ्कीर्णताको कुरा गर्नु राम्रो हुँदैन ।’

जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेदवार सुहाङ बाहेक कोही नभएको भन्दै उनले यस निर्वाचनमा कसैले पनि गल्ती गर्नु नहुने बताए । उनले सुवास नेम्वाङले दिएको योगदान नबिर्सन आग्रह गर्दै रिस उठ्यो भन्दै जेपनि भन्नु नहुने बताए । राजनीतिमा सही भन्न सक्नुपर्ने भन्दै त्यसमा सुवास नेम्वाङ सधैँ अगाडि रहेको उनले दाबी गरे ।

 

प्रतिक्रिया