‘राम्रो काम गरे पूरै कार्यकाल ‘प्रचण्ड’ प्रधानमन्त्री’


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पूरै कार्यकाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको भन्दै एमाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको दाबी गरेका हुन् ।

‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ’, महासचिव पोखरेलले भने, ‘किनकि हाम्रो चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति हो ।’

महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता हो’,महासचिव पोखरेलको भनाइ छ । उनले लोकतन्त्रमाथि सङ्कट आएका बेला काँग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।

प्रतिक्रिया