

राणाकालमा निर्मित कारागारको एउटै कोठामा २५ कैदी

कैलाली- कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।
भवन अभावमा एउटै कोठामा २५ जना बढी कैदीलाई राख्नुपर्ने बाध्यता रहेको कैलाली कारागार प्रशासनले जनाएको छ । सो कारागारमा शौचालयको समेत अभाव रहेका कारण बन्दीलाई शौच गर्न लाइन लाग्नुपर्ने समस्या भएको जनाइएको छ ।
१ सय ५० जना कैदी अट्ने क्षमताको उक्त कारागारमा हाल सात सय २७ जना कैदीबन्दी छन् । कारागारभित्र कैदी पाँच सय एक र थुनुवा १ सय ७१ गरी ६ सय ७२ जना पुरुष तथा ३५ महिला कैदी र १७ जना थुनुवा गरी ५२ महिला कैदीबन्दी रहेको कारागारका प्रमुख दीपक पाण्डेयले जानकारी दिए ।
कारागारमा तीनजना आश्रित नाबालक छन् भने ४० जना विदेशी कैदी रहेको बताउँदै उनले क्षमता तीन गुणा बढी कैदीबन्दीका कारण कारागार प्रशासनलाई व्यवस्थापनमा समस्या भएको बताए । कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको समेत निकै समस्या रहेको छ । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको कारागारभित्र रहेका कैदीको गुनासो छ ।
महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको कारागारका प्रमुख पाण्डेयले बताए । कारागार प्रशासनले दिएको जानकारीअनुसार कारागारमा जीर्ण भवन, खानेपानी अभाव, ढल व्यवस्थापनमा समस्या, बिजुली बत्तीलगायत अत्यावश्यक समस्या छ । कैदीबन्दीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ भौतिक संरचना थपिन नसकेको जनाइएको छ ।
ठाउँको अभाव र जीर्ण भवनमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या रहेको छ । कारागार प्रशासन रहेको जीर्ण भवन पनि वर्षामा चुहिने गरेको छ । एउटै कोठाभित्र धेरै कैदीबन्दी कोचेर राख्दा रोगहरूको सङ्क्रमणको खतरा समेत बढेको छ । बिरामी कैदीबन्दीको उपचारका लागि पर्याप्त बजेट व्यवस्था नहुँदा झन् समस्या बेहोर्नु परेको जनाइएको छ ।
क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको कारागार प्रमुख पाण्डेयले बताए ।
कारागारमा बन्दीगृह, एकवटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्याङ्कीसहित महिला–पुरुष शौचालय, कार्यालय भवनसहितका संरचना जीर्ण भएको जनाइएको छ । यस्तै, कारागारमा लेखापाल, खरिदार, सहायक कम्प्युटर अपरेटरको दरबन्दी कायम भए पनि ती दरबन्दी खाली रहेका छन् ।

