सुप्रिम सहकारीबाट २ करोड लिएका लामिछानेलाई प्रतिवादी बनाउन प्रहरीले खुट्टा कमायो
काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ लिएको खुलेकाे छ ।
सुप्रिम सहकारी संस्थाले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक समिति सदस्यसमेत रहेका गृहमन्त्री लामिछानेको बैंक खातामा सेवा शुल्क बापत ४ लाख रुपैयाँ कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ गएको लेखा परीक्षण प्रतिवेदनमा देखिएको हो ।
गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोरखा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जना आरोपीविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला अदालत रुपन्देहीमा हिजाे (सोमबार) उनीहरुविरुद्ध सहकारी ठगी आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीहरुबाट ८६ करोड १८ लाख ७२४ रुपैयाँ बिगो मागदावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं जिल्ला न्यायधीवक्ता मुक्तिराम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतिवादीहरुको आजदेखि अदालती बयान शुरु हुने छ ।
अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा दुई करोड रकम निकासा भएको उल्लेख छ । तर पनि उनलाई भने प्रतिवादी बनाइएको छैन ।
‘रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ,’– आरोप पत्रमा भनिएको छ ।
तर गृहमन्त्री भएकै कारण लामिछानेले भने उन्मुक्ति पाएका छन् । सहकारीको रकम अपचलन गरेको अनुसन्धान प्रतिवेदनले पुष्टि गर्दा पनि प्रहरी र सरकारी वकिलको कार्यालय लामिछानेलाई प्रतिवादी बनाउन खुट्टा कमाएकाे देखिएकाे छ ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका ५ जनाबाहेक जीबी राईसहित अन्यलाई फरार प्रतिवादी कायम गरिएको जनाएको छ ।