शान्ति सम्झौतालाई पूर्णता दिन संक्रमणकालीन न्यायको विधेयक आवश्यक : उपसभापति गुरुङ


तनहुँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिन सङ्क्रमणकालीन न्यायको विधेयक आवश्यक रहेको बताएका छन् ।

सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले २३औँ स्मृति दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–६ मा आज आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभापति गुरुङले उक्त विधेयक बनाउने क्रममा रहेको बताए ।

उनले भने, “शान्ति सम्झौताको नेतृत्व कांग्रेसले गरेको हो । उक्त विधेयक बनाएर पीडितलाई न्याय दिने सवालमा कांग्रेसको भूमिका हुनुपर्छ ।”

अझै विधेयक ल्याउन नसकिएको बताउनुहुँदै उपसभापति गुरुङले विधेयक बनाउने क्रममा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उल्लेख गरे । विधेयक बनाएपछि मात्रै पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने उनको भनाइ थियो ।

सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताउँदै उनले , “मैले पार्टीको आन्तरिक बैठकमा धेरैपटक यो विषय उठाए, गत चैत २३ गते म आफैँ प्रस्तावक भएर संसद्मा यो विषय सार्वजनिक महत्वको प्रस्तावका लागि दर्ता गराएको छु ।”

प्रतिक्रिया