
कपिलवस्तुमा करिब ३ बिघा गहुँ खेतमा आगलागी
काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ ।
आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।
बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको बताए ।
आज मध्याह्न १२ बजेर १५ मिनेटमा प्रहरी टोली आगो निभाउन खेतमा खटिएको र स्थानीयको सहयोगमा १२ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको उनले जानकारी दिए । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो । भित्राउन ठिक्क भएको गहुँ खेतमै जलेर नष्ट भएपछि किसानहरु चिन्तामा परेका छन् ।



कागजपत्र |
