सुनसरीमा घेराबन्दीमा पारेर कुटिए सुरक्षाकर्मी, डीएसपीसहित ९ प्रहरी घाइते


सुनसरी – सुनसरीमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेको छ ।

सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा प्रदर्शन चर्किएपछि नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका छन् । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए। प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ ।

प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ । प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ ।

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो।

प्रतिक्रिया