सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा, भण्डारीमाथि कारबाहीको माग


काठमाडौं – सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् ।

दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमै छन् । मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । दुवैलाई सामान्य चोटपटक लागेको छ । सुशान्तका परिवारले उनीहरूमाथि कारवाहीको माग गरिरहेका छन् ।

दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् । उनीहरू खतरमुक्त रहेको अस्पताल स्रोतले बतायो । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ । उनी आसामका कलाकार हुन् ।

प्रकृती गिरीको हात भाँच्चिएको भने रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन् ।

शुक्रबार नगरकोटबाट फर्किदै गर्दा विशालसहित ६ जना चढेको कारले विपरित दिशामा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया