

महराको बयान सकियो, हाजिरी जमानीमा छाड्नुपर्ने वकिलहरुको तर्क

काठमाडौं – सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।
कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।
अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका छन् ।

