
म्याद नाघेका बिउ र विषादी बेच्ने कृषि सहकारी तथा एग्रोभेटलाई कारबाही
धादिङ- किसानलाई बिउबिजन बिक्री–वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेट कारबाहीमा परेका छन् । कृषि सहकारी र एग्रोभेटहरूलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो।
बेनीघाटरोराङ गाउँपालिका– ९ मा रहेको जनभावना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार तथा वडा नम्बर ७ मा रहेको इन्द्र भेटेरेनरी सेन्टरलाई १० हजार र वडा नम्बर १० मा रहेको मनकामना भेट एन्ड एग्रोभेटलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए।
यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बिउबिजन तथा विषादी बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको पराजुलीले बताए।
घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमका अनुसार अनुगमनका क्रममा करिब ७५ हजार रुपैयाँबराबरका म्याद नाघेको विषादी तथा बिउबिजन जफत गरिएको छ ।



कागजपत्र |
