
राजस्व हिनामिनाको आरोप लागेका गुप्तालाई ५ वर्ष कैद
काठमाडौं – विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।
मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
दोषी ठहर भएका आरोपितमध्ये एक नासु मदन प्रसाद गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ विगो मागदावी गरेको थियो ।
अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए । त्यही आरोपमा अख्तियारले उनीमाथि आर्थिक वर्ष २०७२/७३ मा राजस्व हिनामिना गरेको आरोपमा ९५ लाख ८ हजार विगो र त्यसको दोब्बर रकम जरिवाना मागदावी गरेको हो ।



कागजपत्र |
