अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठामा नेपालबाट को–को गए ?


काठमाडौं– आज भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ । उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै छन् । उक्त प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदैछन् । झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत छन् ।

उक्त समारोहमा सरिक हुन देशविदेशबाट धेरै भिआपी त्यहाँ पुगिसकेका छन् । तर, प्रतिष्ठाका बेला मन्दिरको गर्भगृहमा भने पाँच जना मात्र रहने बताइएको छ । प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयमसेवक सङ्घका सरसङ्घचालक मोहन भागवत , उत्तरप्रदेशकी गभर्नर आनन्दीवेन पटेल र राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष नृत्यगोपाल दास गर्भगृहमा रहने बताइएको छ ।

प्राण प्रतिष्ठामा सहभागी हुन नेपालबाटसमेत थुप्रै व्यक्ति गएका छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, जानकी मन्दिरकै उत्तराधिकारी महन्थ रामरोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्थ, बराहक्षेत्रस्थित चतराधामबाट सिद्धबाबा भनिने कृष्ण गिरी त्यहाँ गएका छन् ।

यस्तै पशुपति क्षेत्र विकास कोषका मूल भट्ट, पशुपतिकै सदस्यसचिव राजकुमार खत्री, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र पूर्वआईजीपी अच्युतकृष्ण खरेल पनि अयोध्या जाने जानकारी प्राप्त भएको थियो ।

यस्तै कैलालीको धनगढीलगायत विभिन्न स्थानीय तहका नगरप्रमुखलाई पनि निम्ता दिइएकाले उनीहरुले पनि अयोध्या पुगिसकेका छन् ।

राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । गर्भगृह सजाउन कर्नाटकबाट फूल ल्याइएको हो । यसका लागि थाइल्याण्ड र अर्जेन्टिनासँगै दिल्ली र कोलकाताबाट सुन्दर विदेशी फूलको खेप ल्याइएको छ ।

प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षामा कडाईसमेत गरिएको छ । शनिबार रातिदेखि अयोध्याधाम जिल्लासहितका सीमानाका सिल गरिएको छ ।

प्रतिक्रिया