अकास्मात् यसकारण रोकियो नेकपा विवादको सर्वोच्चले आज सुनाउन लागेको फैसला


काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दाको फैसला मिति सरेको छ ।

गएको बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते बिहीबार अर्थात् आज नेकपा नामसम्बन्धी विवादको मुद्दा टुंगाउने जनाएका थिए । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्चसहित देशभरका अदालतहरू बन्द रहने भएपछि फैसला मिति धकेलिएको हो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको निर्वाचन आयोगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर ऋषिराम कट्टेलले निर्वाचन आयोगमा त्यसअघि नै आफ्नो नेतृत्वमा दर्ता भइसकेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिरको तेश्रो साता सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपा सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरिसकेको अवस्थामा समेत एकजुट हुन सकिरहेका छैनन् ।

प्रचण्डले ओलीले पार्टी फुटाइसकेको दाबी गर्दै अब मिल्न नसकिने बताउँदै आएका छन् । ओली पनि प्रचण्डसँग मिलेर जाने संकेत देखिएको छैन । ओली(प्रचण्ड नै नजुट्ने निष्कर्षमा पुगिसकेको अवस्थामा दुवै समूहले नेकपा नाम आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेका छन् ।

प्रतिक्रिया