

राष्ट्रियसभामा एमालेलाई सीट दिने प्रस्तावमा माधव नेपाल असहमत

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभामा एमालेलाई सीट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा असहमत जनाएका छन् ।
बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले आफु असहमत रहेको धारणा राखेका हुन् ।
टीआरसी विधेयकमा सहमतिको शर्त अघि सार्दै एमालेलाई पनि राष्ट्रियसभामा सीट दिन कांग्रेस र माओवादी सकारात्मक देखिएका छन् । अध्यक्ष नेपालले पार्टीको सैद्वान्तिक दृष्टिकोण र अडान राखेको केन्द्रीय सदस्य सुदेश पराजुलीले बताएका छन् ।
उनले भनेका छन्, ‘बालुवाटार बैठकमा कमरेड माधव नेपालले आफ्नो पार्टीको सैद्वान्तिक दृष्टिकोण र अडान राख्नु भएको हो (सत्तापक्ष र प्रतिपक्षका सन्दर्भमा) विमति र सहमति कमरेड प्रचण्डको विषय हो । हाम्रो पार्टी, पार्टीका आदरणीय अध्यक्ष आफ्नो मान्यतामा दृढ हुनुहुन्छ ।’ उनले सहमति र असहमतिको दोष बालुवाटार नै हुने भएकाले अरुलाई देखाएर पानी माथिको ओभानो बन्न नपाइने बताए ।
एमालेले टीआरसी विधेयक पास गर्नको लागि राष्ट्रियसभामा ६ सीट मागेको प्रधानमन्त्रीले गठबन्धनको बैठकमा ब्रिफिङ गरेका थिए । दलहरूबीच आन्तरिक छलफलपछि पुनस् बैठक बस्ने तयारी छ ।

