

सेनाको जागिर छाडेर रुस पुगेका हरिको अन्तिम भिडियो– बाँचे भेट, मरे त यत्तिकै [भिडियो]

काठमाडौं– २३ वर्षीय हरि अर्याल मंसिर १८ गते(डिसेम्बर ४) अन्तिमपटक फेसबुकमा सक्रिय थिए । हतियारसहित गुडिरहेको रुसी सेनाको गाडीमा ‘‘निरमोही आफ्नो को छ र…’ बोलको गीतमा भिडियो बनाउँदै उनले लेखेका थिए, ‘यस्तै छ जिन्दगी । बाँचे भेट, मरे त यत्तिकै ।’
त्यसकै अघिल्लो दिन उनले फेसबुकमै रुसी सेनाको बर्दी लगाएर पूर्ण कदको तस्बिर राखेका थिए ।
त्यस्तै नोभेम्बर १५ अर्थात कार्तिक २९ गते ‘आज सम्मको बसाई राम्रो भो अबको दिन पनि राम्रो होस् भन्न भगवान ईश्वरप्रति आशा राख्दै अगाडि बढेको छु’ भन्दै उनले एउटा भिडियो पोष्ट गरेका छन् । अहिले उनले गाएको ‘सानु तिमीले नमान टेन्सन । बाँचे तलब मरे त पेन्सन । लाहुरे सिपाही दाइ…’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फेसबुकमा एकदमै सक्रिय हुने उनले मंसिर १८ गतेपछि कुनै सामग्री राखेका छैनन् । किनकी सोही दिनपछि उनी कहिलै नफर्किने गरि अस्ताएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका आर्याल ३ वर्षअघि नेपाली सेनामा भर्ती भएका थिए । तर धेरै आम्दानी नहुने भएपछि उनले जागिरबाट राजीजामा दिएर विदेश जाने निधो गरे ।
हरिले सुरुमा बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेको थिए । तर, त्यहाँको भिसा नलागेपछि अन्य देश जाने योजना पनि फेला भयो । अन्त्यमा उनी रुस जाने निर्णयमा पुगेका थिए ।
गत कात्तिक ३ गते भिजिट भिसामा यूएई हुँदै उनी रुस पुगेको आफन्त बद्री अर्यालले जानकारी दिए । महिनामै ५ लाख रुपैयाँ कमाइ हुने भनेपछि हरि रुस गएका थिए’ उनी भन्छन्, ‘तर एक पैसा पनि पठाउन पाएन । गएको २ महिना नपुग्दै उनको निधन भयो ।’
उनका अनुसार हरिले नेपालमा एजेन्टलाई ७ लाख बुझाएका थिए । त्यसपछि रुस छिर्नलाई त्यहाँका एजेन्टलाई १५ सय डलर तिरेका थिए ।
हरिले भिडियोमा भनेजस्तो तलब र पेन्सन पठाउन पाएनन् । परिवारले उनको शवसमेत देख्न पाएको छैन ।
हिजो(बुधबार) मात्रै परिवारले उनको मृत्यु भएको खबर पाएको थियो । तर वडाअध्यक्ष राजु कुँवरले भने उनको मृत्यु भएको खबर मंगलबार नै पाइसकेका थिए । उनलाई परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाबाट खबर गरिएको थियो ।
यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका -५ का पितम कार्कीको मृत्यु भएको थियो ।

