

वीर अस्पतालमा चरम भ्रष्टाचार गरेको भन्दै उपसचिवद्वयविरुद्ध उजुरी

काठमाडौं – मुलुककै ठूलो वीर अस्पताल भ्रष्टाचारको दलदलमा जकडिएको समाचार आईरहेका बेला फेरि अर्को समाचार बाहिरिएको छ ।
पछिल्लो समय वीर अस्पतालमा कार्यरत दुई कर्मचारीले अनियमितता, भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयसहित आधा दर्जन बढी नियामक निकायमा उजुरी परेको छ ।
वीर अस्पतालमा कार्यरत कर्मचारीहरुको नामबाट दिइएको उजुरीअनुसार वीर अस्पतालका उपसचिवद्वय थमनारायण शर्मा (लेखा) र बाबुराम घिमिरे (प्रशासन) का कारण वीर अस्पताल धरासायी बनेकोले छानबिनको माग गरिएको छ ।
खरिद ईकाईप्रमुखसमेत रहेका घिमिरे र शर्माले वीर अस्पतालमा रकम लिएर ज्यालादारीमा कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्टलगायतमा नियुक्ति दिएको उजुरीमा उल्लेख गरिएको छ । उनीहरुले अस्पतालका निर्देशक डा. सन्तोष पौडेलसँगको मिलेमतोमा अस्पतालमा आवश्यक पर्ने सामानहरुको खरिदमा कमिशन लिने गरेको पनि उजुरीमा उल्लेख छ ।
त्यस्तै उनीहरुले टेण्डरमा आउने सामानहरुमा पनि व्यापारीहरुसँग २० प्रतिशत कमिसन माग्ने गरेको, टेण्डरको सामान हुँदा हुँदै पनि कोटेशनमा महंगोमा सामान खरिद गरी अस्पताललाई वार्षिक ३ करोड भन्दा बढीको भार बोकाएको पनि उजुरीमा जनाइएको छ ।
त्यसका साथै ५ लाखमा मर्मत हुने अक्सिजन मेसिन मर्मत नगरेर दैनिक १ लाख बराबरको अक्सिजन खरिद गरी अस्पताललाई व्यवभार बढाएको भन्दै उनीहरुले अस्पतालका बिरामीलाई खुवाउने खाना, फार्मेसीमा औषधी ल्याउने व्यापारीका साथै अस्पतालमा सामानको भुक्तानीमा कमिशन लिने गरेको पनि जनाइएको छ । साथै उपसचिव शर्माले अनियमितासम्बन्धी प्रश्न उठाउने कर्मचारीलाई अख्तियार लगाइदिन्छु भन्दै धम्क्याउने र अदालतमा आफ्नो मान्छे भएको भन्दै कतिपयलाई अदालतको मुद्दा मिलाइदिन्छु भन्दै बार्गेनिङ गर्ने गरेको पनि उजुरीमा जनाइएको छ ।
कर्मचारीहरुले यसअघि दिएको उजुरीअनुसार अख्तियार र स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहेको जनाइएको छ । उनीहरुले प्रधानमन्त्रीको कार्यालयका साथै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका छन् ।

