


सभापति चुन्न प्रत्येक साधारण सदस्यले मतदान गर्न पाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय सदस्य चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गरेर चयन गर्ने व्यवस्था ल्याउन माग गरेका छन् ।
शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो अवस्थामा पार्टीभित्रको गुटबन्दी समाप्त हुने टिप्पणी गरेका छन् । उनले ८ लाख ६६ हजार कांग्रेस सदस्यले सभापतिका लागि मतदानको व्यवस्था गर्ने हो भने पार्टीभित्र गुटबन्दी समाप्त हुने उल्लेख गरे ।
पौडेलले भने– ‘हामीले समावेश पार्टी बनाउने हो भने सबै कुरा पार्टीको सदस्यले गर्न पाउनुपर्छ । सबै कुराको अधिकार पार्टीको सदस्यलाई हुनुपर्छ । त्यसैले केन्द्रीय सभापति निर्वाचित गर्दै गर्दा एउटा क्षेत्रबाट नेतृत्व गर्ने २५ जनाले होइन देशैभरका नेपाली कांग्रेसका सदस्यहरूले भोट हालेर केन्द्रीय सभापति निर्वाचित गर्ने व्यवस्था गरिनुपर्छ । किनकि अहिलेको प्रणालीले पार्टीभित्र गुटबन्दी हुर्कायो एउटा क्षेत्रमा २५ जना प्रतिनिधि हुन्छन्, १३ जनाले जसलाई भोट हाल्छ त्यो सभापति हुन्छ अनि १२ जनाले भोट हाल्छ त्यो प्रतिपक्षमा रहन्छ । अनि त्यसैका बीचमा सँधैभरि द्वन्द्व हुन्छ ।’
नेता पौडेलले सभापति र महामन्त्री लड्ने व्यक्तिले केन्द्रबाटै आफ्नो पक्षमा भोट बढाउने काम गर्न गुटको मान्छे पठाउने र उसको राजनीतिक भविष्य सुरक्षित गर्छु भनेर भन्ने गरेको उनले बताए । आफ्नो गुटको जित भएपछि नेताहरू माला लगाएर बस्ने गरेको टिप्पणी गरे ।
हिजो कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्दा कार्यकर्ता आधारलाई प्रमुखता दिएर पार्टी बनाएको, २०४८ देखि २०५१ सालसम्म राजनीतिक नियुक्ति गर्दा व्यवसायिकतालाई प्रमुखता बनाएको तर कम्युनिस्टहरू सरकारमा जाँदा उनीहरुले आफ्ना कार्यकर्तालाई विभिन्न पदमा लगेको र उनीहरूबाट कांग्रेसले पनि सिकेर विश्वविद्यालयको भिसीदेखि लिएर सबै ठाउँमा आफ्ना मान्छेलाई भर्ती गरेको बताए ।

