प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए ।

उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिए लगत्तै शुक्रबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको थियाे । प्रधानमन्त्रीकै इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक बोलाएको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए ।

 

 

प्रतिक्रिया