

सातादिनभित्रै माडीमा अर्को दुर्घटना, ट्रयाक्टरको ठक्करबाट वडा सदस्यको मृत्यु

चितवन – चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ।
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो।
उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।
यसअघि यसै साता माडीमा एक मोटरसाइकललाई बोलेरो गाडीले ठक्कर दिँदा सोमेश्वर माविका २ शिक्षकको मृत्यु भएको थियो भने, एक शिक्षक घाइते भएका छन् । पछिल्ला दिनमा माडी क्षेत्रमा दुर्घटना बढ्दै जान थालेको छ ।

