
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम बदनाम भएको छः डा. कोइराला
विराटनगर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।
शनिवार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठुला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गरे ।
भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेको उनको दाबी थियो । ‘सुन काण्डको छानबिन कहाँ पुग्यो ? ललिता निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ । भ्रष्टाचार काण्डका विषयमा गठन हुने कुनै पनि छानबिन समितिको प्रतिवेदन बाहिर आउने गरेको छैन,’ नेता कोइरालाले भने । कोइरालाले भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम बदनाम भएको जिकिर गरे ।
राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको उनको दाबी थियो । कोइरालाले जतिसुकै ठुला भ्रष्टाचारका मुद्दा बाहिर आए पनि राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए ।



कागजपत्र |
