चिनियाँ कम्पनी सिनो हाइड्रोसँगको ठेक्का रद्द गर्दै मेलम्ची खानेपानी


काठमाडौँ – सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।

खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको हो । काठमाडौँ उपत्यकालाई पानी पठाउन सिनो हाइड्रोको लापरबाही देखिएको कारण ठेक्का तोड्न लागिएको बताइएको छ ।

काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । मन्त्री यादव दुई दिनदेखि त्यही मेलम्चीमा रहेका छन् ।

खानेपानी मन्त्रालयका सचिव रामआधार साहले ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर मर्मतको काम नसकाएको कारण पानी पठाउन नसकिएको बताए ।

आयोजनाको काम गर्न राखेको धरौटी कम्पनीले माग गरिरहेको तर कामै नगरेपछि धरौटी रकम फिर्ता गर्न नमिल्ने बताए । धरौटी रकम फिर्ता नदिएको भन्दै सिनो हाइड्रोले अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकिर अहमद अन्सारीले पनि ठेक्का रद्द गर्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौँ, केही दिनमा यसको टुङ्गो लाग्छ ।’

सिनो हाइड्रो कम्पनीले मेचम्चीमा इन्टेक र सुरुङको गरी दुइटा ठेक्का पाएको छ । उसको दुवै गरी १० करोड धरौटी रहेको छ । त्यही धरौटी फिर्ता लिनका लागि कम्पनीले सरकारलाई दबाब दिइरहेको छ । तर आयोजना निर्माण गरेको कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर सिनो कम्पनीले मर्मत सम्भार गर्न नचाहेको दाबी गरिएको छ ।

सो आयोजना निर्माण गर्न लाग्दा कम्पनीले ६ करोडको बीमा गराएको छ । बाढीको कारण अहिले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । त्यसबाट कम्पनीले बीमाबाट रकम पनि प्राप्त गर्न सक्ने भए पनि अवलोकन तथा सर्भे नगरेसम्म बीमाको रकम निकासा हुन नसक्ने सरकारी अधिकारीको भनाई छ । कम्पनी भने त्यहाँ काम गर्न नै गएको छैन ।

प्रतिक्रिया